चलचित्र निर्माता तथा वितरकले चलचित्र जाँचपासका लागि पेश गर्नुपर्ने कागजातहरु/ निवेदकले परिपालना गर्नुपर्ने विषयहरू/ चलचित्र प्रदर्शन अनुमति संग सम्बन्धित जानकारीहरु:
क) चलचित्र जाँच (सेन्सर) गराउनको लागि पेश गर्नुपर्ने कागजात एवम् विवरण
- रू. १०/- को हुलाक टिकटसहित तोकिएको ढाँचामा निवेदन (नियम १७ को उपनियम (१) संग सम्बन्धित अनुसूची-१० अनुसार)
- चलचित्र विकास बोर्डको सिफारिस पत्र,
- स्वदेशी चलचित्रको हकमा चलचित्र निर्माण इजाजतपत्रको प्रतिलिपि,
- स्वदेशी चलचित्रको हकमा निर्माताबाट प्राप्त गरेको आधिकारिक पत्रको प्रतिलिपि,
- स्वदेशी चलचित्रको हकमा एकथान भिडियो कपी
- स्पष्ट र बुझिने कथावस्तु लेखन (स्क्रिप्ट) (विदेशी चलचित्रको हकमा नेपाली वा अङ्ग्रेजीमध्ये कुनै एक भाषामा अनुवाद गरिएको कथा संवादसहितको स्क्रिप्ट/पटकथा)
- विदेशी चलचित्रको हकमा आधिकारिक वितरकको इजाजतपत्रको प्रतिलिपि,
- विदेशी चलचित्रको हकमा भन्सार दस्तुर बुझाएको प्रमाणित कागजात,
- विदेशी चलचित्रको हकमा सम्बन्धित मुलुकको अधिकार प्राप्त निकाय वा अधिकारीले चलचित्र जाँच गरी जारी गरेको प्रमाणपत्रको प्रतिलिपि, चलचित्रको पोष्टर तथा शो कार्ड
- कम्पनी/संस्था दर्ता प्रमाणपत्र, कम्पनी अध्यावधिक पत्र, कम्पनीको पछिल्लो आ.व.को करचुक्ता प्रमाणपत्र
- राजस्व दाखिला गरेको भौचर (विदेशमा निर्माण गरेको चलचित्रको लागि रू.१५,०००/- नेपाली भाषाको चलचित्र रू.५,०००/- र १ घण्टा भन्दा कम अबधिको स्वदेशी चलचित्र तथा जतिसुकै अबधिको मातृभाषाको चलचित्रको लागि रू.३,०००)
ख) जाँचपास गर्नुपर्ने चलचित्रका लागि निवेदकले परिपालना गर्नुपर्ने विषयहरूः
१. विज्ञापन चलचित्रको निर्माण/निर्देशनसंग सम्बन्धित आधिकारिक व्यक्तिले मात्र मन्त्रालय समक्ष जाँचपासको लागि निवेदनसहित तोकिएका कागजात पेश गर्नुपर्ने,
(स्पष्टीकरणः आधिकारिक व्यक्ति भन्नाले चलचित्र निर्माता वा आधिकारिक वितरक वा निर्देशकलाई सम्झनुपर्छ।साथै यसले चलचित्र निर्माता वा आधिकारिक वितरकले चलचित्र जाँचपास सम्बन्धी कार्यका लागि लिखितरूपमा अख्तियारी प्रदान गरेको व्यक्ति समेतलाई बुझाउँछ)
२. चेकजाँचको समयभन्दा कम्तिमा २४ घण्टा अगावै सार्वजनिक प्रदर्शनको लागि तयार पारिएको चलचित्रको अन्तिम कपि सेन्सर बोर्डको सचिवालय समक्ष पेश गरिएको हुनुपर्ने,
३. निवेदनमा उल्लेख गरिएको लम्बाई/अवधि अनुसार नै चलचित्र रहेको सुनिश्चित भएको हुनुपर्ने,
४. धुम्रपान/मध्यपानका सबै दृष्यमा "धुम्रपान/मध्यपान स्वास्थ्यको लागि हानिकारक छ" भन्ने सन्देश अनिवार्य राखेको हुनुपर्ने,
५. लागू पदार्थको सेवन/प्रयोग भएका सबै दृष्यमा "लागू पदार्थको सेवन/प्रयोग स्वास्थ्यका लागि हानिकारक एवं कानून बमोजिम दण्डनीय कार्य हो" भन्ने सन्देश अनिवार्य राखेको हुनुपर्ने,
६. ट्राफिक नियमको पालना नभएका सबै दृष्यमा "ट्राफिक नियमको पालना गरौँ" भन्ने सन्देश अनिवार्य राखेको हुनुपर्ने,
७. समाजमा अश्लील लाग्ने संवादको प्रयोग नगरिएको/आवाजरहित (Beep) गरिएको हुनुपर्ने,
८.जाँचपासका लागि पेश गरिएको चलचित्रले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रहरूसंगको सम्बन्धमा खलल पार्ने, विभिन्न धर्म सम्प्रदाय एवम् जातजाति बीचको सुसम्बन्ध र सद्भावमा नकारात्मक असर पर्ने, सार्वजनिक हित वा नैतिकताको प्रतिकूल हुने, व्यक्ति विशेषको मानहानी हुने, अदालतको अवहेलना हुने, लैङ्गिक हिंसालाई प्रोत्साहन गर्ने एवं कुनै अपराध गर्न दुरुत्साहन गर्ने जस्ता श्रव्यदृष्य समावेश नभएको हुनुपर्ने,
ग) चलचित्र प्रदर्शन अनुमति सम्बन्धमाः
१. माथि बुँदा नं. ८ को प्रतिकूल पाइएमा पेश गरिएको चलचित्रको कुनै भाग काँटछाँट वा हेरफेर गरी सार्वजनिक प्रदर्शनको अनुमति दिन सकिने वा त्यस्तो प्रदर्शन गर्न अनुमति नदिन पनि सकिने,
२. चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले सार्वजनिक प्रदर्शनको लागि अनुमति दिइसकेको भएपनि माथि (ख) को बुँदा नं. ८ को प्रतिकूल असर पर्न सक्ने जस्तो देखिएमा जुनसुकै बखत त्यस्तो चलचित्र प्रदर्शनलाई रोक्न वा आवश्यकतानुसार काँटछाट गरेर मात्र प्रदर्शन गर्न अनुमति दिन सकिने।
३.चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले दिएका निर्देशनहरूको पालना भए/नभएको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एवम् चलचित्र विकास बोर्डबाट समेत आवश्यकतानुसार अनुगमन/ निरीक्षण हुने।
नोट: चेकलिस्टमा उल्लेखित कागजातहरु कम्तिमा पनि चलचित्र जाँचपास हुने १ दिन अगाबै केन्द्रीय चलचित्र जाँच समितिको सचिवालयमा पेश गर्नुपर्ने छ ।